काठमाण्डौ / इटालियन सिरी ए मा युभेन्टसले महत्वपूर्ण जित निकालेको छ। चौथो स्थानको रोमामाथि २–१ को जित हात पार्दै युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानमाथि दुई अङ्कको अग्रता लिएको छ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मेरिह डेमिरलले एक–एक गोल गरे। खेलको तेस्रो मिनेटमा डेमिरलले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। १०औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुमै दुई गोलको अग्रता दिलाए।

६८औँ मिनेटमा रोमाले पेनाल्टी पायो, जसलाई डिएगो पेरोट्टीले गोलमा परिणत गर्दै युभेन्टसको अग्रता छोट्याए। तर बाँकी समयमा थप गोल गर्न नसक्दा रोमा पराजित हुन पुग्यो।

जितसँगै युभेन्टसले १९ खेलबाट ४८ अङ्क बनाएको छ। समान खेलबाट इन्टरमिलान ४६ अङ्कसहित दोस्रो स्थानमा छ।