काठमाण्डौ / पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्ष डिभिजनको सेन्ट एटिनलाई ६–१ गोल अन्तरले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो। पेरिसमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि मौरो इकार्डीले ह्याट्रिक गरे।

खेलको दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ३१औँ मिनेटमा वेस्ले फोफाना रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो।

३९औँ मिनेटमा एंगल डी मारियाको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। ४४औँ मिनेटमा जेस्से मोलिनले आत्मघाती गोल गर्दा पहिलो हाफमा पीएसजीले ती–शून्यको अग्रता लिएको थियो।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै इकार्डीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीको अग्रता अझै लम्ब्याए। ५७औँ मिनेटमा एमबाप्पेकै पासमा इकार्डीले ह्याट्रिक पूरा गर्दा पीएसजीले पाँच–शून्यको अग्रता लियो।

त्यस्तै खेलको ६७औँ मिनेटमा इकार्डीको पासमा एमबाप्पेले गोल गरे। ७१औँ मिनेटमा सेन्ट एटिनका योहोन काबाहीले सान्त्वना गोल गरे।