काठमाण्डाै / सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैँया पुगेको छ।

केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैँया बढेर अहिलेसम्मकै महँगाे भएको हो। सुन आइतबार तोलामा १ हजार रुपैँया बढेको थियो। सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन्।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैँया बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो।

गएकाे वर्ष याे समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनु भयो।

अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैँया कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो।