काठमाण्डौ / जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ। यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ। तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ।

छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ क्रिम लगाउनु पर्छ। कसैको ओइली स्किन हुन्छ भने कसैको ड्राइ। ड्राइ स्किन भएकाहरुले बाक्लो, तेल बढी भएको मोइश्चराइजर क्रिम प्रयोग गर्नुपर्छ। जसको ओइली स्किन हुन्छ, उसले मोइश्चराइजर पानी र तेलको मात्रामा पानीको मात्रा तेल भन्दा बढी भएको अर्थात लोसन प्रयोग गर्नुपर्छ।

एकदमै धेरै ओइली फेस हुनेले जेल बेस मोइश्चराईजर प्रयोग गर्नु उचित हुन्छ। यो एकदमै लाइट खालको हुन्छ, चिपचिप नआउने। छालको प्रकार हेरेर मोइश्चराईजर मुखको लागि पनि प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै धरै तातो पानीले नुहाउने गर्नु हुँदैन। नुहाइसकेपछि पनि धेरै सुख्खा गरेर नपुछ्ने। पानी अलि अलि रहँदै शरीरभरी नै मोइश्चराईजर लगाउने। किनकी शरीर सुख्खा भयो भने चिलाउने हुन्छ।

अनुहारलाई यसरी जोगाऔं

अनुहारलाई घामबाट बचाउनका लागि सन्सक्रिमको प्रयोग गर्नुपर्छ। जाडो महिनामा धेरै घाम ताप्ने, घाम मा बस्ने गरिन्छ। यसले चायाँ, पोतोदेखि लिएर चाउरिपना, दाग धब्बा समस्याहरु निम्त्याउँछ। छिटो बुढो देखिन्छ मानिसलाई। जाडोको घाम अझ पारिलो हुन्छ। घाममा धेरै समय बस्दा अनुहारमा असर गर्छ।

सन्सक्रिम सामान्य छाला भएकाहरुले ३० देखि ५० एसपिएफ भएको प्रयोग गर्नुपर्छ। बिहान प्रयोग गरियो भने ३–४ घण्टापछि फेरि लगाउनु पर्ने हुन्छ। पर्याप्त मात्रामा। यसको प्रयोग नगरी छालालाई घामबाट बचाइएन भने हल्का भएको चायाँ पोतोहरु पनि फर्केर आउने अथवा नभएको पोतो देखा पर्ने हुन्छ।

जाडोमा खानुपर्ने खाना

जाडो याममा पानी प्रशस्त पिउनुपर्छ। चिसो पानी खान मन नभए मनतातो बनाएर अथवा कागती पानी या सादा चिया पिउनुपर्छ। प्यास लागेन भनेर पानीको मात्रा कम गर्नु हुँदैन। नत्र छाला भित्रैबाट ड्राइ हुन्छ।

त्यसैगरी तेल, भिटामिन इ र ओमेगा–३ फ्याट्टी एसिड प्रशस्त मात्रामा भएको खाना खाँदा छाला नरम र चम्किलो हुन्छ। यो भिटामिन माछा, बदाम, काजुमा हुन्छ। हरियो सागपात पनि प्रशस्त खानुपर्छ। जाडोयामको खानामा यी खानेकुरा सामेल गर्ने हो भने स्किन भित्रबाटै ओइली भएर चम्किलो हुन्छ।

हातखुट्टा, ओठ फुट्नबाट कसरी जोगाउने ?

जाडो मौसममा पटक–पटक हातखुट्टा धोइरहनु हुँदैन। भाँडा माझ्दा पनि साबुन, खरानीको प्रयोग धेरै गर्नुहुँदैन। कपडा धुने सर्फ अथवा साबुन, डल्लो साबुन, कडा साबुनहरु प्रयोग नगरेकै राम्रो जाडोयाममा। यसले छालालाई सुख्खा बनाउने डा। सबिना भट्टराई बताउँछिन्। हातखुट्टामा बाक्लो खालको मोइश्चराईजर लगाउनुपर्छ।

खुट्टा फुटेर चिराचिरा परेको हटाउने मलमहरु पनि पाइन्छ बजारमा। चिकित्सकको प्रेस्कीप्सन अनुसार प्रयोग गर्न सकिन्छ। खुट्टाको चिराचिरा छाला मुलायम बनाउने मोइश्चराईजर नियमित रुपमा लगाइयो भने हातखुट्टा नफुट्ने डा. भट्टराईको भनाइ छ।