पोखरा / पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौ गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १ सय ८६ रनको लक्ष्य दिएको छ। पोखरा प्रिमियर लिगकै पहिलो शतक प्रहार गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले १०० रनको विस्फोटक इनिङ्स खेले। 

मौसमका कारण एक घण्टा ढिलो गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौले १७ ओभरमा झारिएको खेलमा पाँच विकेट गुमाउँदै १८५ रन बनाएको हो। 

कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा आठ चौका र नौ छक्का प्रहार गरेका थिए। १७औँ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा सन्दिप जोराबाट क्याचआउट भए।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशन कोल्सावालाले १३१ रनको साझेदारी गरेका थिए। जयकिशन कोल्सावालाले पनि ४६ रन बनाए। उनले ३७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए। 

काठमाण्डौका लागि अमित श्रेष्ठले पनि २१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए।