सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका ७ स्थित रास ताल परिसरमा बहुजातीय साँस्कृतिक मेला लाग्ने भएको छ। मसिंर २३ गतेदेखि २६गतेसम्म बहुजातिय साँस्कृतिक मेला लाग्ने भएको हो।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल)मा बहुजातीय साँस्कृतिक मेला लाग्ने जानकारी दिएको छ। सुनसरी सामुदायिक बन क्षेत्र भित्रको ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबारदेखि शुरु हुने मेलामा आउदै गरेको उधौली पर्वलाई बिशेष रुपमा मनाउन २५ र २६ गते ८जातको सँस्कृति झल्कने कार्यक्रम गरिने आयोजकको भनाई छ।

मेलामा पश्चिमको डेउडा नाच, राउटे र चेपाङ जाति, पहाडका शेर्पा, लामा, राई, लिम्बु तराईको थारु, धिमाल, सन्थाल र खस ब्राम्हण्डलगायतका बहुजातीय नाच र सँस्कृति प्रर्दशन हुने ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष शशी राईले जानकारी दिनुभएको छ।

२०६० सालदेखि प्रत्येक बर्षको उधौली र उभौली पर्वको अवसरमा रास तालमा साँस्कृतिक मेला भइरहेको पत्रकार सम्मेलनमा ईमानसिंह चेम्जोङ पर्यटकीय साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष राजेश राईले बताउनुभयो।

पर्यटन बर्ष २०२० लाई समेत लक्षित गरी नेपालमै पहिलोपटक बहुजातीय साँस्कृतिक मेला गर्न लागिएको भन्दै आयोजकले मेलामा करिब १० हजार बढीले अबलोकन गर्ने अपेक्षा गरेको छ।

मेलामा जातीय सँस्कृति तथा भेषभुसाका बारेमा पनि मेला अवलोकनकर्ताहरुलाई जानकारी दिने कार्यक्रम रहेको र मेलालाई थप आकर्षित बनाउन २६ गते चर्चित गायिका मेलिना राईको समेत प्रस्तुति रहने जनाइएको छ।

मेलालाई प्रदेश नम्बर १का पर्यटनमन्त्रि जगदिश कुशियतले उद्घाटन गर्ने कार्यक्रम छ। ६१ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले पर्यटकीय स्थलको रुपमा चर्चित छ। बनभोज स्थलदेखि डुंगा सयरको लागि यो ताल प्रदेश १ कै उत्कृष्ठ गन्तव्य हो।