बझाङ / वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहसंस्कार भएको छ।

आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिएका हुन्। छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको पालिका चुनावपछि मलेसिया पुग्नुभएको थियो।

कामको सिलसिलमा मलेसियामा रहनुभएका बोहोरा गएको मंसिर १३ गते सुत्ने कोठामा मृत अवस्थामा फेला पर्नुभएको आफन्तले बताएका छन्। शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उहाँको दाहसंस्कार गरिएको हो।

बोहराको मृत्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन। कतिपयले बोहराको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताएका छन्।

बोहरा पालिकाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार पनि हुनुहुन्थ्यो। त्यो चुनावमा बोहरा १०२ मतले पराजित हुनुभएको थियो। ‘चुनावमा झण्डै ७र८ लाख रुपैयाँ खर्च भयो, पराजय पनि भोग्नुपर्यो। त्यसपछि गाँउघरमा कुनै विकल्प नभएपछि दाइ मलेसिया पुग्नुभयो’, भाइ वसन्तले भन्नुभयो।

चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेशले दुई वर्षमा नै तिर्नु पनि भयो। ‘पालिकाको चुनाव निकै खर्चिलो भयो’, उहाँकी पत्नी अन्जनादेवीले भावुक हुँदै भन्नुभयो, ‘ऋण तिर्न भन्दै विदेश गएका थिए। पैसा पठाउँछु, ऋणको केही चिन्ता नलिनु भन्थे तर आज आएर आफै बाकसमा फर्किए।’

‘छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर रमेश मलेसिया पुग्नुभएको हो। तर आज आएर यो दिन देख्नु पर्‍यो। अबको चैत महिनाभित्र त घरमा आउँछु, चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज ।।’, अन्जनाले भन्नुभयो।

उहाँका दुई छोरी र एक छोरा छन्। जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन्।

- उज्यालोबाट