सुनसरी/ उपनिर्वाचन भएका ५२ ठाउँका नतिजा सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा बिजयी भएको छ।

बाँकी ९ ठाउँमा अन्य दल बिजयी भएका छन्। प्रतिनिधिसभातर्फ उपनिर्वाचन भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक स्व.अधिकारीकी श्रीमती बिद्या भट्टराई २४ हजार ३ सय ९४ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९सय ९१ मत प्राप्त गर्नुभएको छ।

यस्तै प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ। त्यहाँ कांग्रेसका उम्मेदवार बिजयी भएका छन्। भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मत ल्याउँदै बिजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्दि नेकपाका देबिप्रसाद ढकालले ११ हजार २ सय ६ मत प्राप्त गर्नुभएको छ। 

प्रदेशसभातर्फ भने दाङमा नेकपाले जित दोहोर्‍याएको छ। दाङमा नेपाल कम्युनिष्ट पार्टीकी बिमला कुमारी खत्रिले २४ हजार २ सय ८६ मत ल्याउँदै बिजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका केशव राज शर्माले १९ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ।

यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्‍याएको छ। बाग्लुङमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहि ११ हजार २ सय ३५ मत ल्याउँदै बिजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका जित बहादुर शेरचनले ९ हजार एक सय ३८मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा बिजयी भएको छ। एक प्रदेशसभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाईदा भएको छ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो। यसअघि यहाँ कांग्रेसले जितेको थियो।

यस्तै पछिल्लो पटक सार्वजनिक भएको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले नेकपाको सिट खोसेको छ। नेकपाबाट निर्वाचित मेयर तारा सुब्बा बिजयी भएको धरानमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनुभएको छ। राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले जित्नुभएको हो। यसैगरी धरानको वडा नम्बर ७ मा नेकपाले बिजय प्राप्त गरेको छ। नेकपाले त्यहाँ १ भोटले बिजय प्राप्त गरेको हो। यसअघि पनि त्यहाँ नेकपा नै बिजयी भएको थियो।

उपनिर्वाचन भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ। यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ।

प्रदेशसभामा जित दोहोर्‍याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ। समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्‍याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्‍याउँदै एउटा वडा थपेको छ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन्। पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो।