काठमाण्डाै / सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ। 

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले त्यस टोलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभयो।

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जितेलगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो। गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।