ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जिल्ला अदालत ओखलढुङ्गाले जन्मकैदको फैसला सुनाएको छ। बिहीबारको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै सो फैसला गरेको हो।

दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौमा मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनको हत्या गरेका थिए।

खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै कार्कीको शव फेला परेको थियो। हत्या गरेर भागेका आरोपितलाई प्रहरीले भालुवाङबाट पक्राउ गरेको थियो।

आरोपितले अभियोग स्वीकार गरेकोले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ। अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए।