काठमाण्डौ / राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ। शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो।

नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ। यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पार्नु भएकाे छ।

यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल हुनुभएको छ। उहाँले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पार्नु भएको छ। 

विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पार्नुभयो। उहाँले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गर्नु भएकाे छ। 

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल हुनुभयो। उहाँले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल हुनु भएको छ। फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो।  

‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन्।  

नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहनुभएको थियो। अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए।