जनकपुर / धनुषाको मिथिला नगरपालिकामा एक निजी विद्यालयका शिक्षकले यौनशोषण गरेको घटना सार्वजनिक भएको छ। घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ।

ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका दुईजना नाबालिकालाई केही समयदेखि पटक–पटक बलात्कार गर्दै आएका शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दाहाल झापाको मेची नगरपालिका–३ निवासी हुन्। पीडित बालिकामध्ये एउटी ७ वर्षीया र अर्की ९ वर्षीया छन्।

घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो। ढल्केवर बोर्डिङ स्कुलमै बस्दै आएका टेकेन्द्रले सामाजिक विषय अध्यापन गराउँदै आएका थिए।

दसैँ अघिदेखि नै बिदाको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेका ती बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक बलात्कार गर्दै आएको जनाइएको छ। कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका कारण पीडित दुवैजना बालिकाले डरको कारण घटना सार्वजनिक गरेका थिएनन्।

प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुवै बालिका र आरोपी शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। टेकेन्द्रमाथि बलात्कारको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।