काठमाण्डौ / गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएकोप्रति कांग्रेस नेता गगन थापाले विरोध गर्नुभएको छ। उहाँले आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उनीहरुका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो।

‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत भन्नुभयो। भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो शाहीमाथि आक्रमण भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रोबसमा आक्रमण भएको हो। युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो।

शाहीको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि समस्या भएको बताइएको छ। शाहीलाई शनिबारनै चितवनबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ।