बिराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहे पनि प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरेको छ।

सोमबार बसेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिनुभयो।

मन्त्री घिमिरेले पेश गरेको विधेयक प्रदेशसभाले बहुमतबाट पारित गरेको छ। कांग्रेसको विरोधकै बिचमा सामाजिक विकास समितिको प्रतिवेदनसहित सो विधेयक आइतबार प्रदेश सभामा पेश भएको थियो।

विधेयकमा व्यवस्था गरिएको बोर्ड अफ गभनर्सको व्यवस्था हटाउनु पर्ने, शिक्षालयको साटो महाविद्यालय राख्नुपर्ने, मनमोहन पोलिटेक्निकका सञ्चालकलाई संरक्षण समितिको आजीवन सदस्य रहने व्यवस्था प्रति कांग्रेसको असहमती थियो।

विधेयकको प्रस्तावनामा इञ्जिनियरिङ, विज्ञान तथा प्रविधि मात्रै राखिनु पर्ने, दफा ३ को उपदफा १ मा इञ्जिनियरिङ विज्ञान प्रविधि अध्ययन अध्यापन र अनुसन्धान गर्नका लागि मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरिने भनी उल्लेख गर्नुपर्ने कांग्रेसको मत थियो।