इटहरी/ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले स्कुलमा बुझाउने बिभिन्न शुल्क नबुझाउँदा स्कुल ड्रेस किन्नलाई सहज हुने बताउनुभएको छ। बिहिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले त्यसो भन्नुभएको हो।

निजि स्कुलहरुले बिभिन्न शिर्षकमा अनावश्यक शुल्क लिएको भन्दै मेयर पौडेलले त्यो नतिर्दा ड्रेस(युनिफर्म) किन्न सहज हुने बताउनुभयो। अभिभावकले नयाँ ड्रेस किन्न नसक्ने भन्दै प्रचार गरिएको भन्दै मेयर पौडेलले अनावश्यक शुल्क हटाउने बित्तिकै ड्रेसको कुनै समस्या नभएको बताउनुभयो।

अदालतको आदेशपछि उप-महानगरपालिकाले सबै बिद्यालयमा एउटै पोशाक लागू गर्ने बाटो खुलेको भोलिपल्ट मेयर पौडेलले पत्रकार सम्मेलनमार्फत शिक्षाका तमाम बिषयमा आफ्ना र उप-महानगरका धारणा सार्वजनिक गर्नुभएको हो।

आँफुले स्कुलहरुको बेतिथि चिर्न प्रयास गरिरहेको भन्दै मेयर पौडेलले साथ दिन सञ्चारकर्मीहरु समक्ष आग्रह गर्नुभयो। मेयर पौडेलले आफूले निजी स्कुलहरुलाई पनि सँगै लिएर इटहरीको शिक्षा सुधारको अभियानमा हिड्ने भन्दै उहाँले निजी स्कुलहरुसँग छलफल गर्दै साथै लिएर हिड्ने बताउनुभयो।

मेयर पौडेलले सामुदायीक बिद्यालयहरूले पनि कुनैपनि शिर्षकमा शुल्क लिन नपाउने भन्दै यही शैक्षिक सत्रदेखि यसको लागि काम थाल्ने बताउनुभयो।

मेयर पौडेलले निजी स्कुलको पक्षमा अदालतबाट अन्तरिम आदेश नआएको भन्दै नगरपालिकाले मुद्दा जित्यो भन्ने बिषय सार्वजनिक भएको भन्दै आम जनताले आफूलाई चित्त नबुझेको बिषय राखेकोमा अदालतको एउटा आदेश आएको हो र कसैको हार र जित नभएको बताउनुभयो।

मेयर पौडेलले आफ्नो लक्ष्य निजी स्कुलहरुलाई निरुत्साहित गर्ने नभएको भन्दै सामुदायीक बिद्यालयलाई बनाउने र निजी स्कुलमा भएका बेथिति अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको दोहोर्‍याउनुभयो। उहाँले गुनासा भए भन्नुपर्‍यो भन्दै बिधि मान्दिन भन्नु चाहिँ गलत रहेको बताउनुभयो।

फरक प्रशङ्गमा मेयर पौडेलले उप–महानगरपालिकाले ऐन बदलेको भन्ने आरोप गलत भएको दाबी गर्दै ऐन बदलेको हो कि होइन भनेर अदालतले प्रमाणित गर्ने भन्दै सो बिषयमा अदालतले केही नभनेको र यो आरोप झुटो रहेको बताउनुभयो।

मेयर पौडेलले बिधेयकलाई ऐन भनेर उपमेयरले आरोप लगाएको जिकिर गर्दै एमाले जनप्रतिनिधिहरूलाई पार्टीले दबाब दिएकोसमेत दावी गर्नुभयो। उहाँले अगाडी भन्नुभयो ‘उपप्रमुखले काम गर्न पाउनु भएको छैन, आफैंले निर्णय गरेको बिषय होइन भन्ने स्थितिमा उहाँहरू हुनुहुन्छ, त्यसको लागि पार्टीले दबाब दिईरहेको र इटहरीलाई सधैं अशान्त बनाइरहन चाहने व्यक्ति र समूहले स्वतन्त्र रूपले काम गर्न दिएनन्।’