नेपाली साहित्य परिषद गान्तोकमा डा.डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ। सोमबार एक बिशेष कार्यक्रम गरेर डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो।

सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित बरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवं निर्देशक चुनिलाल घिमिरे साथै अन्य बरिष्ठ साहित्यकारहरुको बाहुलीद्वारा सोमबार डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको थियो।

किनार प्रकाशन गान्तोकले गरेको लोकार्पण एवं सम्मान कार्यक्रममा साहित्यकार केदार गुरुङ मुख्य अतिथि रहेको कार्यक्रममा साहित्यकार चुनिलाल घिमिरेले कार्यक्रमको अध्यक्षता गर्नुभयो। कार्यक्रमका अवसरमा नेपालका आठ जना स्रष्टा र सिक्किमका ६ जना स्रष्टालाई सम्मान गरिएको थियो।

सभाध्यक्ष चुनिलाल घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ शान्ति, सुरक्षा हुन्छ त्यहाँ गीत संगीत तथा कलाले फस्टाउने मौका पाउने भन्दै प्रसिद्ध पश्चिमेली साहित्यकार शेक्सपियरको भनाईको उदाहरण दिँदै ‘जसले गीत संगीत मन पराउँदैन उ आत्मद्रोही हुन्छ।’ भन्नुभयो। pic 3

उहाँले ‘पहिला हाम्रा अभिभावकहरुले गीत गाउन दिँदैनथे। गीत नगा, दुःख पाउँछ, दुखिया हुन्छ भन्ने गर्थे भन्दै बर्तमानमा गीत सङ्गीतको क्षेत्र उर्वर भएको छ।’ भन्नुभयो। नेपाल र सिक्किम–दार्जिलिङको साङ्गीतिक सम्बन्धलाई जोडदै पहिले पहिले रेडियो नेपालबाट बज्ने गीत सुनेर सिक्किम दार्जिलिङ तिरका धेरै जनाले गीत लेख्न गाउन प्रेरित बनेको सभाध्यक्ष घिमिरेले बताउनुभयो।

कार्यक्रममा घिमिरले एकै साथ आफ्ना सातवटा गीति सँगालो लोकार्पण गर्ने गीतकार डीआरलाई बधाई दिँदै यसरी एकै साथमा सातवटा गीति सँगालो निकाल्नु चुनौतिपूर्ण कार्य रहेको भन्दै डीआरका गीतले सामाजिक परिवर्तनको आवाज बुलन्द गर्न चाहेको बताउनुभयो।

यसरी नै मुख्य अतिथि केदार गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य, कला संगीत जीवनको अभिन्न अंग रहेको बताउनुभयो। उहाँले गीतकार डीआरका सिर्जनाले समाजमा सकारात्मक परिवर्तन गर्नेमा आफू बिश्वस्त रहेको भन्दै जीवन जीउन पनि एउटा कलाको आवश्यकता पर्ने बताउनुभयो।

कवि एवं चित्रकार दीपा राई र कार्यक्रम आयोजक समिति अध्यक्ष टीबी चन्द्र सुब्बाले स्वागत सम्बोधन गर्नुभएको थियो भने डा.शान्ति क्षेत्रीले पनि सम्बोधन गर्नुभयो। उहाँले संगीतको बिशेषता एवं महत्वमाथि बोल्दै आफ्नो जीवनसाथी पनि आँफुले गीतकै मार्फत भेटिएको खुलासा गर्नुभयो।

कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसालले सिक्किम र नेपाल माझको भाषिक, सांस्कृतिक एकरुपताको बिषयमा उजागर गर्नुभयो। उहाँले नेपाली साहित्य तथा संगीत जगतमा सिक्किमेले धेरै प्रगति गरेको उल्लेख गर्दै मुख्यमन्त्री पवन चाम्लिङ स्वयं एक कुशल राजनीतिज्ञसँगै साहित्यक व्यक्तित्व रहेको हुनाले पनि सिक्किमको संगीत तथा साहित्य जगतले फस्टाउने अवसर पाएको बताउनुभयो।

यसरी नै डा.डीआर उपाध्यायले सम्बोधनमा लोकार्पित गीति सँगालोलाई श्रोताले सुनेर प्रतिक्रिया दिने आशा व्यक्त गर्नुभयो। उहाँले आफ्ना कृतिमाथि पनि प्रकाश पार्नुभयो। उपाध्यायले नेपालका सातै प्रदेशका बिभिन्न ठाउँमा गएर आफ्ना कृति लोकार्पण गरेको भन्दै सिक्किम आएर यो लोकार्पणको यात्रा बिसर्जन गरिरहेको साथै सिक्किम नआएसम्म आफ्नो यात्रा अधुरै रहने महशुस गरेको पनि बताउनुभएको थियो pic 2

यसरी नै बरिष्ठ साहित्यकार सुरेश घिमिरे ‘निश्चिन्त’ले सम्बोधनका क्रममा नेपाली गीत संगीतको क्षेत्रमा पवन चाम्लिङको योगदानबारे बोल्नुभयो। सिक्किमले धेरै गीत–संगीतकार जन्माएको भन्दै घिमिरेले सिक्किम, दार्जिलिङ, आसाम आदि भारतीय भेगबाट नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा बहुमूल्य योगदान पुर्‍याएको बताउनुभयो। उहाँले पद्यमदिप प्रतिष्ठानले डा. डीआर उपाध्यायका गीति सात संगालोलाई नेपालका बिभिन्न ठाउँमा गएर लोकार्पण गरेको भन्दै सिक्किममा त्यो अवसर जुरेको बताउनुभयो।

कार्यक्रममा नेपालका स्रष्टा डा.डीआर उपाध्याय, सुरेश घिमिरे ‘निश्चिन्त’, कृष्ण भुषाल, नवीन सुब्बा, सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, गीता अधिकारी र सुनिता खनाल तथा सिक्किमका स्रष्टा प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ ‘लोहोरो’ र निलम न्यौपानेलाई सम्मान गरिएको थियो।

यसरी नै नेपाली साहित्यकार टीबी चन्द्र सुब्बा, सीपी गिरी, चुनिलाल घिमिरे, डीआर नेपाल र सीबी कार्किलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा गायक तथा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ले आफ्ना सुमधुर गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो।