इटहरी/ तामाङ ऐतिहासिक थाकथलो ‘किपट’ को कथामा निर्माण भएको नेपाली चलचित्र ‘अभियान’ को पोस्टर, ट्रेलर र एउटा गीत सार्बजनिक गरिएको छ। शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर पोस्टर, ट्रेलर र एउटा गीत सार्बजनिक गरिएको हो।

पुर्वाञ्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा शुक्रबार गरिएको कार्यक्रममा चलचित्रको टिमसहित प्रदेश १का कलाकर्मीको उपस्थिति थियो। ‘अभियान’मा स्व.जयनन्द लामाको पनि भुमिका छ। कार्यक्रममा लामाको सम्झनामा दिप प्रज्वलन गर्दै मौनधारण गरिएको थियो। २ मिनेट २९सेकेन्डको ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक लाखमान योञ्जनले ‘अभियान’ निर्माणका क्रममा ५५लाख लगानी लागेको बताउनुभयो।

कोशी भिजन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘अभियान’ की निर्माता मैना घिसिङ हुनुहुन्छ। चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन। प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाँडै प्रदर्शन मिति घोषणा गर्ने लामाको भनाइ छ। ट्रेलरमा चाँडै प्रदर्शन हुँदैछ भनेर सार्बजनिक गरिएको हो।

यस्तो छ ट्रेलर :

चलचित्रमा स्व.जयनन्द लामाका साथमा अमर पाख्रिन, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, रश्मिला वाइवा, सन्तोष सराकार, रितेशजंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योञ्जन, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बम्जनलगायतका कलाकारको अभिनय छ।

चलचित्रमा दुईटा गीत समावेश गरिएको छ। गितका शब्दहरू पनि निर्देशक लामाले नै कोरेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर सुन्न सकिन्छ। गितमा संगीत तथा एरेञ्ज कुन्दन राई र जोनि तामाङको छ भने राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन्। कोशी भिजनमै पोष्ट प्रोडक्सन गरिएको चलचित्र ‘अभियान’ लाई हेमन तामाङले सम्पादन गरेका हुन ।