बिराटनगर/ नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ। बुढीगंगा गाउँपालिकामा सोमबार भएको चुनावी सभामा बोल्दै उहाँले त्यसो भन्नुभएको हो।

उहाँले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत दिन आग्रह गर्नुभयो। उहाँले नेपाली कांग्रेसका नेताको जित भनेको नेताको मात्र नभएर सबैको जित भएको सुनाउनुभयो। उहाँले भन्नुभयो “विजय गच्छदार र शेखर कोइरालाको जित भन्ने नसोच्नुहोला यो पार्टीको जित हो। त्यसैले लोभ लालचामा नपर्नुहोस जनताका लागि दिनरात खटिएर काम गर्ने कांग्रेस उमेदवारलाई भोट दिनुहोस।”

यस्तै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आठ रुखमा सात छाप लगाएर बिजय गराउन आग्रह गर्दै भन्नुभयो, “लोकतन्त्रको रक्षा गर्न अनि जनताको घरदैलोमै गई काम गर्नसक्ने उमेदवार चुन्न लागि पर्नुहोस ।” IMG_1115

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार जितनारायण थापा मगरले आफूलाई जिताएमा सबैलाई शिक्षामा समान अवसर दिई सरकारी बिद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क र एक समान शिक्षा दिइने व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। सबै सामुदायीक बिद्यालयको भौतिक र शैक्षिक पूर्वाधारहरु सुदृढ गर्ने बताउनुभयो।

उहाँले मातृभाषामा(थारु) पठनपाठन गराउने व्यवस्था गर्ने भन्दै घर घुम्ती क्लिनिक सञ्चालन गर्ने बिपन्नहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयो। कृषिमा आत्मनिर्भर बढाउन किसानहरुको सुचीकरण र वर्गीकरण गरी कृषि सामाग्री तथा कृषि सेवामा सबै कृषकहरुको पहुँच सुनिश्चित गर्ने उहाँले स्पष्ट पार्नुभयो। प्रत्येक घरबाट एकजनालाई सिपमुलक तालिम दिलाई रोजगार व्यवस्था गर्ने समेत उहाँले बताउनुभयो। IMG_0860

उहाँले स्थानीय कर बैज्ञानिक लोखाजोखा बिधिबाट निर्धारण गर्ने र दोहोरो कर अन्त्य गर्न पहल गर्ने बताउनुभयो। उहाँले गरिबीलाई उच्च, मध्यम र निम्न वर्गमा बिभाजन गरी कार्ड उपलब्ध गराउने र सोही अनुरुप न्यून गरीबीलाई बिद्युत महशुल निःशुल्क गर्ने बताउनुभयो।

यस्तै उपाध्यक्षकी उम्मेद्वार अमृता गच्छदारले महिलाहरुलाई सीप सिकाई उनीहरुलाई स्वरोजगार बनाउन अनुदानको व्यवस्था गर्ने बताउनुभयो। सातवटा वडा रहेको मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धन बिना एक्लै चुनावी मैदानमा छ।