बिराटनगर/ नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ। एमाले मोरङले १५९वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरेको स्कुल बिभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकैदिन गर्ने तयारी गरेको खतिवडाले बताउनुभयो। जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ।

जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ। बैठकले बिभिन्न पार्टीबाट आएका, बिगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सबैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताउनुभयो । UML Photo 2 (1)

बाढी, पहिरोबाट हुनसक्ने जोखिमबाट बच्नका लागि आवश्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, ट्रेड युनियन महासंघ र अनेमसंघलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ।

एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव बिनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। यस्तै कोरोना संक्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरुमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि प्रकट गरेको स्कुल बिभाग प्रमुख खतिवडाले बताउनुभयो।

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गर्नुभएको छ । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उहाँले बताउनुभयो।