इटहरी / घरमा श्रीमती गर्भवती । सुत्केरी हुने दिन नजिकै । सबै तिर कोरोना महामारी । अस्पतालमा बेड नपाएर बिरामीको मृत्युदर बढिरहेको थियो । अक्सिजन अभाव भएर अस्पतालले बिरामी भर्ना लिन छाडेका थिए । यस्तो अवस्थामा गर्भवती श्रीमती कोरोना पोजेटिभ भइन् ।

यस्तो बेला उनी अर्थात् घनश्याम सिग्देल सक्रमित श्रीमतीको स्याहारमा भन्दा पनि अन्य सक्रमित बिरामीहरूका लागि अस्पतालमा बेड दिलाउन,अक्सिजन खोजिदिन र अस्पताल सम्म पु¥याउनका लागि एम्बुलेन्स खोज्नमा सहजिकरणमा समय दिइरहेका थिए । डेढ वर्ष यता इटहरी उप महानगरपालिका स्वास्थ्य शाखा हेर्ने जिम्मेवारी पाएका घनश्याम सिग्देललाई भने श्रीमतीलाई नियमित स्वास्थ्य चेकजाँच गराउन लैजाने समय पनि मिलिरहेको थिएन ।

कोरोना माहारीका कारण उप महानगर क्षेत्रमा सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको थियो । मृतकको ग्राफ बढ्दो थियो । यो बेलामा सक्रमितलाई अस्पताल पु¥याउन र अस्पतालमा भर्ना गराउन समन्वय सिग्देलले नै गर्नु पर्थ्यो । सक्रमितका परिवारजनहरूले राती एक दुई बजे पनि फोन गर्थे । बिहान बेलुका दिउँसो र राती नभनी आइसोलेसन व्यवस्थापनमा चाहिने सामाग्री,इटहरी अस्पताल र अन्य स्वास्थ्य संस्थाको नियमित कामका बारेमा पनि रेखदेख गर्ने जिम्मा सिग्देलकै थियो । अझ अस्पतालमा कोरोनाका कारण कसैको मृत्यु भयो भने शव व्यवस्थापनका लागि आवश्यक तयारी र समन्वय गरिदिने काम पनि सिग्देलकै काँधमा थियो । उनी सम्झन्छन्,“एका तिर घरमा गर्भवती श्रीमती संत्रमीत,आफूलाई भने कार्यालयको कामको चाप ।”

सिग्देल भन्छन्,“अरूका लागि काम गर्दा आप्फ्नो पनि राम्रै हुँदो रहेछ ।” कोरोना रिपोट नेगेटिभ आएपछि श्रीमतीको अप्रेसन सफल भएकोमा उनी खुसी छन् । तर उनलाई दुख पनि छ त्यो के भने उनले सुत्केरी हुँदा समेत श्रीमतीका लागि समय दिन सकेनन् । जम्मा जम्मी तीन दिन मात्रै छुट्टी लिए । नियमतः उनले १५ दिन सुत्केरी बिदा पाउनु पर्ने हो । तर उनी बिदामा बस्दा कोरोना सङ्क्रमित र उपचार तथा रोकथाममा लागेकाहरुको सुचनाको चेन नै टुट्ने भएकाले उनी बिदामा बसेनन् ।

इटहरी अस्पतालकाे ईमर्जेन्सी शाखा प्रमुख रामकुमार धमालाका श्रीमान श्रीमती नै स्वास्थ्य क्षेत्रमा काम गर्छन् । उनीकी श्रीमती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्छिन् । घरमा ६ बर्षकी छोरी छन् ।

कोरोना माहामारीमा काम गरिरहँदा दैनिक अस्पतालले बेड नभएर इटहरीबाट पठाइएका बिरामीको भर्ना नलिएको, मृत्यु भएपछि शव व्यबस्थापन गर्न समस्या भएको भनेर फोन आइरहन्थे । यीनै समस्या समाधान गर्न उनी अस्पताल, जनप्रतिनीधि , प्रहरी र प्रशासनसँग फोन मार्फत सहजिकरण गर्थे रामकुमार धमला । उनको कुराकानी उनकी छोरीले पनि सुन्थिन् ।

एक दिन इटहरी १७ की एक जना महिलालाई बिरामले चाप्यो । कोरोनासँग लक्षण मिल्थ्यो । सास फेर्न गाहे भएपछि कोसी कोभिड उपचार केन्द्र पठाए । वेड खाली थिएन । त्यसपछि अन्य कोभिड उपचार हुने अस्पताल पठाइयो । कहि कतै बेड मिलेन । राती एक बजे सम्म अस्पताल चहार्दा चहार्दा पनि भर्ना गर्न नसकेपछि बिरामीलाई इटहरी अस्पताल फर्काइयो । इटहरी अस्पतालमै अक्सिजनको सहायताले उपचार थालियो । दुर्भाग्य उपचार थाले लगत्तै उनको निधन भयो ।

छोरीले सबै घटनाक्रम कुराकानीको क्रममा सुनेकी थिइन् । धमला भन्छन् त्यस दिन पछि छोरीले बावा आमाको चिन्ता गर्न थालिन् । फ्रन्टलाइनमा बसेर कोभिड रोकथाम उपचार र नियन्त्रणमा काम गरेका धमला भन्छन्,“बाबा मम्मीलाई त बिरामी हुनु भो भने बेड दिन्छन् नी ?देशको मान्छेले त बेड पाँउछ नी ? देशको मान्छेलाई केहि हुन्न नी ?छोरीले प्रश्न गर्न थालिन् ।” धमलाका अनुसार बिरामीको उपचार गर्ने मानिसहरु देशको मान्छे हुन् भन्ने छोरीलाई लाग्न थालेको छ।

दुवै जना कोभिड उपचारकै क्षेत्रमा कार्यरत । महामारीछ भनेर घरमा बस्न नपाइने । धमाला भन्छन्“कोरोना पोजेटिभ भइहाल्यो र बिरामले चाप्यो भने अस्पताल नपाएर मरिन्छ भन्ने भइसकेको थियो । धन्न हामी दुवैलाई अहिले सम्म केहि भएको छैन ।”

जनप्रतिनिधि र कर्मचारीका बिचको ग्याप
२०७४ सालमा इटहरीमा बाढी आयो । इटहरीको बुढी खोलाले इटहरीमा ठुलो धन जनको क्षति पु्र्यायो । १३ जनाको ज्यान लिएको बाढी पछि थुप्रै परिवार विस्थापित भए । उनीहरूलाई विभिन्न शिविरहरूमा राखियो । त्यसपछि इटहरीमा स्वास्थ्य क्षेत्रमा समस्या देखियो । टाइफाइडका बिरामीहरू बढे । त्यो बेला इटहरी अस्पतालले घुम्ती शिविर चलाएर परीक्षण त ग¥यो । तर सामान्य स्लाइन दिएर औषधी चलाउन सक्ने बेडको अवस्था समेत अस्पतालमा थिएन ।

दुई वर्ष अघि इटहरीमा मात्रै होइन प्रदेश एक भरि नै डेंगुको प्रकोप फैलियो । डेंगुको सक्रमणले घर घरमै मानिसहरू बिरामी पर्न थाले । अस्पतालमा बेड अभाव देखियो । उपचारमा समस्या भयो । तर इटहरी अस्पतालमा सामान्य बिरामीलाई राखेर उपचार गराउन सक्ने अवस्था रहेन । यसपछि ६ वर्ष देखि ईटहरिमा कार्यरत रामकुमार धमलाले उप महानगरपालिकाको कार्यपालिका बैठकमा भने इटहरीमा यस्ता प्रकोपहरू आइरहन्छन् । अस्पताल व्यवस्थापनका लागि केही न केही योजना ल्याउनु प¥यो ।

अस्पताल सुधारमा केही काम त भयो । तर पर्याप्त भएन । धमला भन्छन्,“स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा महामारीका बेला थप समस्या भयो।” विकास भनेको बाटो घाटो र पुल पुलेसा हो भन्ने बुझाई छ। बाटो बन्यो भने बिरामी हिँड्छ एम्बुलेन्स पुग्छ भन्ने बुझाई जनप्रतिनिधिको छ। यसैले पनि स्वास्थ्य क्षेत्रमा लगानी भइरहेको छैन । इटहरी उप महानगरले अहिले पनि कुल बजेटको १० प्रतिशत भन्दा बढी बजेट विनियोजन गर्न सकेको छैन ।

बजेटको धेरै जसो रकम भने कर्मचारीको तलब भत्ता र सुविधामै सकिँदै आएको छ । अहिले इटहरी उप महानगरपालिका अन्तरगत इटहरी अस्पताल सहित १० वटा स्वास्थ्य संस्था छन् । तीनमा काम गर्ने एक सय ५० को हाराहारीमा कर्मचारी छन् । तर ती सबै कर्मचारी परिचालन गर्ने इटहरी उप महानगरको स्वास्थ्य शाखामा भने ४ जना कर्मचारी छन् ।

स्वास्थ्य शाखा हेर्ने जिम्मा पाएका सिग्देललाई यसपालिको महामारीमा पनि कार्यान्वयन पक्ष फितलो भएको अनुभव भयो । कोभिड रोकथाम नियन्त्रण र उपचारका लागि नगर स्तरीय समिति बन्यो । कानुन त वडा स्तर सम्म यस्तो कमिटी बनाउने प्रावधान छ । तर वडा स्तरमा यस्तो समिति बन्नै पाएन । तल्लो तह सम्म यस्तो समिति बन्न पाएको भए र कामको बाँडफाँड र समन्वय भएको भए महामारी नियन्त्रणमा अझै प्रभावकारी काम हुने थियो । जनप्रतिनिधि र कर्मचारीकै बिचमा पनि समन्वयमा समस्या देखिएको फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी अनुभव छ ।

बजेटमा कन्जुस्याइँ
एक पटक एक्सरे मेसिन किनेर ल्यायो भने भइहाल्यो ,अर्थात् अल्ट्रासाउन्ड मेसिन जडान भएपछि बिरामीले नियमित सेवा पाइहाल्छन् । अहिले यही सोचका कारण पनि सरकारी स्वास्थ्य सस्थाहरु बलिया हुन सकेका छैनन् । महामारी विरुद्धको मोर्चामा खटिएका रामकुमार धमला स्वास्थ्य क्षेत्रको विकासका लागि जनशक्तिसँगै उपकरणको पनि अपग्रेड आवश्यक भएको बताउँछन् ।

औजार र उपकरण बिना जस्तो सुकै दक्ष जनशक्ति भए पनि स्वास्थ्य सेवा प्रभावकारी र उच्च स्तरीय हुन सक्दैन । उनले हामी र हाम्रो सरकारको सोच एक पटक लगानी गरेपछि भइहाल्छ भन्ने भएको बताए ।

बाटो बनाए जस्तो नभत्किन्जुल स्वास्थ्य सामग्री चलिरहने हुँदैन रहेछ, सिग्देल भन्छन् गुणस्तरीय स्वास्थ्य सेवाका लागि नयाँ नयाँ प्रविधि भित्राउन पनि आवश्यक छ । स्थानीय, प्रदेश र सङ्घीय तिनै तहका सरकारका प्रमुखहरूको सोच त्यता जान सकेको छैन ।

अब्बल स्वास्थ्य संस्था निर्माणका लागि दक्ष जनशक्ति, भौतिक पूर्वाधार, नयाँ नयाँ इक्युपमेन्ट र अजौराले मात्रै स्वास्थ्य संस्था प्रतिको विश्वसनीयता हुने धमलाको अनुभव छ ।हामी भौतिक पूर्वाधार निर्माणमा मात्रै लागिरहेका छौ । यसले पनि सरकारी स्वास्थ्य संस्था प्रतिको विश्वास नागरिकमा हुन सकिरहेको छैन ।

स्वास्थ्य क्षेत्रमा विश्वास नभएसम्म जति सुकै काम गरे पनि सेवा लिन मानिसहरू नआउने बताए । कोरोना महामारीले अहिले सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको छ । यो अवसर पनि हो । धमला भन्छन्,“यो विश्वासलाई समाएर सरकारले लगानी गर्ने हो भने हामी राम्रो गर्न सक्छौ ।”

महामारीले सरकारी संस्थाप्रति नागरिकमा बढाएको विश्वासलाई टेकेर सरकारी स्वास्थ्य संस्था बलियो बनाउने हो भने भौतिक पूर्वाधारसँगै,दक्ष जनशक्ति, आधुनिक औजार उपकरणका लागि बजेट र लगानी आवश्यक रहेको सिग्देल दाबी गर्छन् ।

प्रोत्साहन र सम्मान
महामारीका विरुद्धको युद्धमा अग्र मोर्चा सम्हालेका इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलालाई पटक पटक लागेको थियो कथन कदाचित कोभिड भएर थलिनु प¥यो भने भेन्टिलेटर त के बेड सम्म नपाएर मरिन्छ होला ।

दिनै पिच्छेको त्रास र डरका बिचमा पनि उनले दायित्व भुलेनन् । इटहरीका बासिन्दा र समुदायको उपचार र निदानमा खटिइनै रहे । उनले के पाए त ? जिज्ञासामा भन्छन्,“सन्तुष्टि म मेरोमा काममा सन्तुष्ट छु ।” घनश्याम सिग्देलको जवाफ पनि एउटै छ । मैले गरेको कामले म सन्तुष्ट छु । कोरोना रोकथाम नियन्त्रण र निदानमा धमला र सिग्देल जस्ता सयौँ स्वास्थ्यकर्मी छन् जसले ज्यान माया मारेर कोभिड विरुद्धको मोर्चामा होमिए । तिनैको योगदानले हजारौँको ज्यान जोगिएको छ । मृत्युको मुखबाट फर्किएका छन् । तर तिनलाई गर्ने सम्मान के फरियो त ?

सरकार कर्मचारीको नजर्रियाबाट माथि उठ्न सकेको छैन समुदायको कुरा त अलि परकै हो । प्रदेश एक सरकार सामाजिक विकास मन्त्री उषाकला राई भने स्वास्थ्यकर्मीका लागि सरकारले धेरै गरेको बताइन् । उनले कोभिड महामारीमा खटिएको स्वास्थ्यकर्मीका लागि सरकारले जोखिम भत्ता र प्रोत्साहन भत्ता दिएको बताउँछिन् । उनका अनुसार भत्ता बढाउनु स्वास्थ्यकर्मीलाई सरकारले गरेको सम्मान र प्रोत्साहन हो ।