बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका ६ मुनाल चोकमा शरिरभरी चौटैचोट भएर बेवारिसे अवस्थामा भेटिएका एकजना बृद्वलाई उद्दार गरिएको छ। बृद्वलाई बराहक्षेत्र नगरपालिका, ओरेक तथा क्विक रेस्पोन्स सेन्टर बराहक्षेत्र नगर कमिटीले उद्धार गरी इटहरीस्थित माया घर पठाइएको हो।

शारिरीक एवं मानसिक रुपमा अशक्त ८९ बर्षीय तेजप्रसाद पौडेल लकडाउनका कारण केही दिनदेखि मुनाल चौकमा बेवारिसे अवस्थामा सडकमै बस्दै हुनुहुन्थ्यो। उहाँलाई स्थानीयले खाना खुवाउँदै आएका थिए।

अनुहार र शरीरका बिभिन्न ठाउँमा चोट पटक लागेको अवस्थामा देखेपछि पौडेलको उद्दार गरी माया घर पठाइएको ओरेक सुनसरी प्रतिनिधि बिमला घिमिरेले जानकारी दिनुभयो।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि जारी गरिएको लकडाउनको समयमा बृद्वको उद्धार गरी मानवीय जिम्मेवारी पुरा गरेको घिमिरेले बताउनुभयो। बृद्वको शरीरका बिभिन्न ठाउँमा लागेको चोटको उपचार समेत गरी माया घर पठाइएको हो।

बराहक्षेत्र नगरमा लकडाउनका कारण अलपत्र परेकाहरुको उद्धार र सहयोगमा नगरपालिका, ओरेक र क्विक रेस्पोन्स सेन्टर सदैव तयार रहेको घिमिरेको भनाई छ।