सुनसरी/ नेकपा एमालेले माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको छ। एमालेको नाममा पार्टी बिरोधी फाटोवादी र गुटगत कृयाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै एमालेले नेपाल र रावललाई कारबाही गरेको हो।

निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै एमालेले नेपाल र रावलले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएको छ। ७ चैतको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाउनुभएको थियो।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले बिधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए। स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको एमालेले जनाएको छ।

नेकपा एमालेले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर भनेको छ‘आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा आपराधिक कृयाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखियो।’

एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत कृयाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै नेकपा एमालेले पार्टी बिधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ।

यो सच्चिने अन्तिम मौका भएको भन्दै नेकपा एमालेले आफ्ना विचार र कृयाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने जनाएको छ।

निलम्बनको पत्रमा भनिएको छ‘सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी बिरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’