केराबारी/ खेलकुद बिकास समिति केराबारी २ ले नवबर्ष २0७८ को अवसरमा प्रदेश नम्बर १ पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। समितिले आईतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रथम जेफाले प्रदेश नम्बर १ पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता नाम दिईएको सो प्रतियोगिता बैशाख ३गते देखि सञ्चालन हुने आयोजक खेलकुद बिकास समिति केराबारी २ले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका यस्तै झापाको बिर्तामोड नगरपालिका र दमक नगरपालिका यस्तै मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका अनि भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन्।

२०४३ सालदेखि निरन्तर रुपमा हरेक नयाँ बर्षको अवसरमा भलिवल प्रतियोगिता गर्दै आएको भन्दै यसपटकदेखि दायर बढाएर प्रदेश एकका पालिका स्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।

नयाँबर्षको अवसरमा केराबारी २ सिंहदेवि स्थित जेफालेमा सांगितिक कार्यक्रम, साहित्यिक कार्यक्रम अन्तरगत श्रृजना वाचन कार्यक्रम पनि गरिने आयोजकको भनाई छ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाण पत्र यस्तै द्वितिय हुनेले नगद ५० हजार, कप मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ। प्रतियोगितामा करिव ७ लाख खर्च हुने आयोजकको अनुमान छ।