काठमाण्डौ / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ। नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो। एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । सो बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ। निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ।

नेताहरुका अनुसार माओवादी केन्द्र दर्ता हुँदा केन्द्रीय समिति पछि बुझाउने गरी केन्द्रीय सचिवालयमात्रै रहेको जानकारी आयोगमा गराइएको थियो। अब त्यही ८७ सदस्यीय केन्द्रीय सचिवालयले केन्द्रीय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउनेछ।

माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ।

अनलाईन खबर