इटहरी/ इलाका प्रहरी कार्यालय परिसरमा केहिदिन अघि एउटा म्याजिक भ्यान रोकिएको थियो। सो गाडी प्रहरीले किन ल्यायो बुझ्न यो पंतिकार उत्सुक थियो। उत्सुक हुँदै यो पंतिकार गाडीको अगाडी गएँ। त्यहाँ टाँसिएको थियो ‘गरि खान देउ’ लेखेको स्टिकर। अनि यो पंतिकारले ‘गरि खान देउ’ लेखेको छ किन ‘गरि खान नदिनु भएको भनेर प्रहरीलाई प्रश्न गरेँ’।

एकजना जुनियर प्रहरी अधिकृतले भने ‘गरि खान देउ’ लेखेको गाडीमा गर्नै नहुने काम गर्दा रहेछन् अनि यस्ता दुक्कि काम गर्नेलाई छोडिदिनु ? मैले उत्सुक हुँदै प्रश्न गरेँ के गरेछन् त ? त्यो गाडीमा त चोरी पैठारी गर्दै भन्सार छलेर अबैध रुपमा कपडाको आयात गरिँदो रहेछ। ‘गरि खान देउ’ लेखेको गाडीमा दुक्कि काम हुँदो रहेछ।

के थियो गाडीमा ?
इलाका प्रहरी कार्यालय इटहरीले कोशी राजमार्ग अन्तरगत इटहरी ८ खण्डमा माघ २५ गते २ बजेतिर शंखास्पद अवस्थामा फेला पारेको को.१ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडी भित्र भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको बिभिन्न सामान बरामद गरेको छ।

प्रहरीले १४ लाख ५२ हजार ४ सय ५० रुपैँया बराबरको साडी, ब्लावज र कुर्था सुरुवालहरु फेला पारेको छ। प्रहरीले साडी, ब्लावज र कुर्था सुरुवालहरु, गाडीसहित बरामद गरेर आवश्यक कारवाहिको लागि आन्तरीक राजश्व कार्यालय इटहरी पठाएको छ।

को थियो गाडीमा ?
सो गाडीमा गाडी चालक मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने ३९बर्षीय कनबिर मुस्ताकिम रहेको र उनलाई पनि नियन्त्रणमा लिएको छ।