झापा/ जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा गाउँपालिका–९ का २९बर्षीय पंकज पौडेली बिकलाई प्रहरीले पक्राउ गरेको हो।

अनलाइनबाट चिठ्ठा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने गरेको आरोपमा पौडेलीलाई प्रहरीले पक्राउ गरेको हो।

बिर्तामोड नगरपालिका–२ चारपानेबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। IMG_0545

पक्राउ परेका पौडेलीको साथबाट ३ लाख ५६ हजार ७ सय १० रुपैँया नगद, उनको घरको दराजबाट २ लाख ८ हजार,२ सय रुपैँया र पौडेलीको घर पछाडीको ग्वाली छेउमा रहेको गोवरको थुप्रोभित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८लाख ३० हजार ३ सय ५ रुपैँया गरी जम्मा १३ लाख ९५ हजार २ सय १५ रुपैँया नगद बरामद गरेको झापा प्रहरीले जनाएको छ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव एउटा, बिनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र एउटा, अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी एउटा र सिमसहितको दुईटा मोवाईल बरामद गरेको प्रहरीको भनाई छ।

ठगीको आरोपमा पक्राउ परेका पौडेलीलाई अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएकोले थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।