बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः शुरु भएको छ। नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्तनलीको ढुंगा निकाल्न थालिएको हो।

कोरोना महामारीका कारण गत चैतबाट इआरसीपी सेवा रोकिएको थियो। अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्तनलीको पथरिया निकाल्न थालिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले जानकारी दिनुभयो।

यो प्रविधिबाट नेपालमा बिरलै मात्र उपचार हुने गरेको पाईन्छ। इआरसीपी विधि शुरु नहुँदा पित्तनलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो। अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ। ल्याप्रोस्कोपिक बिधिमा पनि पेटमा प्वाल पारेर पित्तनली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ। पित्तनली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने र संक्रमणको खतरा हुने चिकित्सकहरु बताउँछन्।

तर, इआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै वा दिसाको माध्यमबाट बाहिर निकालिने हुनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकहरुको भनाई छ। यसबाट घाउ नहुनाले बिरामी दुईदिनमै घर फर्कन सक्ने डा.यादव बताउनुहुन्छ। पित्तनलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि प्रभावकारी हुने गर्छ।

नेपालका केही अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले २०७५ पुषदेखि शुरुवात गरेको हो। नोबेलले इआरसीपी विधिबाट सयौं बिरामीको सफलतापूर्वक पथरिया निकालेको छ। नोबेलले २०७५ फागुन २६ गते इआरसीपी बिधिबाट एकैदिन हालसम्मकै धेरै १४ जनाको पित्तनलीको ढुंगा निकालेर नेपालमै पहिलो रेकर्ड बनाएको थियो।