बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई मुटुको भल्ब निःशुल्क लगाइएको छ। मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुईजना पुरुष र चारजना महिलालाई मुटुको भल्ब निःशुल्क लगाइएको हो।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए। भण्डारीमार्फत प्राप्त भएको भल्ब न्यून आर्थिक अवस्थाका ६ जनालाई निःशुल्क लगाइएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिनुभयो। डा. नेपालले गरिब बिपन्न परिवारका थप चारजना बिरामीलाई पनि निःशुल्क भल्ब लगाइने बताउनुभयो।

Yagya_Bhandari-Photo
सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारी

भल्व निःशुल्क प्रदान गर्ने सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक भण्डारीले गरिब बिपन्न बिरामीको उपचारमा साथ दिने उद्धेश्यले सहयोग गरेको प्रतिक्रिया दिनुभएको छ।

पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश भट्टराई, सुनसरीको इनरुवाका रामकुमार भुजेल, मोरङको बुद्धनगरका मदनकुमारी राजवंशी, सुन्दरहरैंचाका बिशाखा दास, बुढिगंगाका मिना ठाकुर र उदयपुरको गाइघाटकी बिमला खत्री कटुवालको मुटुको भल्ब फेरिएको हो। प्रतिव्यक्ति करिब ७२हजार मूल्य पर्ने मुटुको भल्ब उनीहरुलाई निःशुल्क लगाइएको नोबेल अस्पतालले जनाएको छ।