सुनसरी/ इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पुर्‍याउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत शुरु गरिएको हो।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले र एक कार्यक्रमका बीच भवनको शिल्यान्यास गर्नुभयो। कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरि भवन निर्माण गर्न निर्देशन दिनुभयो। केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने चौधरीले जानकारी दिनुभयो।

उपप्रमुख लक्ष्मी गौतमले आईतबार(आज) शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक बर्षमा सेवा सुचारु गरिने बताउनुभयो । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि बजेटको ब्यवस्था गरिएको जानकारी दिनुभयो।

यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले आँफु निर्वाचित वडाबाट स्वास्थ्य केन्द्र भवनको निर्माण शुरु गरिएकोमा खुशि ब्यक्त गर्नुभएको छ। इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि बढेको जनाउनुभयो । उहाँका अनुसार यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ। अहिले १० वडामा स्वास्थ्य सँस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा सञ्चालित छन्। यो आर्थिक बर्षभित्र सवै वडाहरुमा स्वास्थ्य सँस्थाहरु भईसक्ने उहाँले जानकारी दिनुभयो।

नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको बताउनुभयो। निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समयअघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो। वडा सदस्य लक्ष्मी शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो।