सुनसरी/ इटहरीस्थित स्किल क्याम्पसले इटहरीका पत्रकारहरुलाई स्वास्थ्य तथा अन्य आवश्यक सामाग्री बितरण गरेको छ। पत्रकार महासंघ सुनसरीको समन्वयमा इटहरी क्षेत्रमा सकृय पत्रकारिता गर्ने ३५ भन्दा बढी पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो।

क्याम्पसले पत्रकारीताको लागि आवश्यक ब्याग, मास्क, स्यानेटाइजर, डायरीलगायत सामाग्रीहरुसमेत बितरण गरेको स्किल क्याम्पसका प्रमुख पृथ्वी पराजुलीले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणका जोखिमबीच सक्रियतापूर्वक खट्ने पत्रकारहरुलाई सामाग्री दिइएको पराजुलीको भनाई छ। यस्तै क्याम्पसले पत्रकार महासंघलाईसमेत मास्क, स्यानेटाइजरलगायतका सामाग्री उपलब्ध गराएको छ। vai

केही दिनअघि मात्र क्याम्पसले इटहरी अस्पताललाई एक लाख रुपैँया भन्दा बढी रकमको पीपीइलगायत स्वास्थ्य सामाग्री दिएको थियो।

कार्यक्रममा पत्रकार महासंघ सुनसरी सचिव हिमाल दाहालले समाजको लागि जोखिमबीच काम गरिरहेका पत्रकारहरुलाई सामाजिक संस्थाले गरेको सहयोग प्रसंसनीय रहेको बताउनुभयो। दाहालले जोखिमका बीचमा पनि सतर्कताका साथ आफ्नो भूमिका निभाउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो।

इटहरीमा स्थापित स्किल क्याम्पसले होटल मेनेजमेन्टका कक्षाहरु सञ्चालन गरिरहेको छ। बिभिन्न छोटो अवधिका तालिमहरुसँगै तीन बर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ। क्याम्पसमा अध्ययन गरेका कतिपय बिद्यार्थी नेपाल तथा बिदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन्। क्याम्पस सञ्चालन गरिरहेको समुहले इटहरीमा गोक्यो स्कुलसमेत सञ्चालन शुरु गरेको छ।