सुनसरी/ एकजना घाँसीको प्रेरणाबाट नेपाली भाषाको चौतर्फी बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आदिकवि भानुभक्त आचार्यको आज २०७ औँ जन्म जयन्ती, अर्थात आज ‘भानुजयन्ती’।

रामायण खण्डकाव्यलाई संस्कृतबाट नेपालीमा उल्था गर्ने ठूलो र महत्वपूर्ण जमर्को गर्नुभएका भानुभक्त आचार्य नेपालका प्रथम कवि अर्थात आदिकविका रुपमा चिनिनुहुन्छ। संस्कृत बुझ्ने र पढ्न सक्नेको मात्र सिमीत पहुँचमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेर भानुभक्तले समाजलाई ठूलो र अमर उपहार दिनुभएको छ।

भानुभक्तका कृतिहरुमा नेपाली समाज र परिवेशको मिठास आउने गर्दछ। समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गर्दै साहित्यमा उतार्ने भानुभक्तका लेखाइमा सरलता, धार्मिकता र राष्ट्रियताको अदभूत संगम पाईन्छ।

भानुभक्तका कतिपय रचना र सृजनाहरु कवि मोतिराम भट्टले जर्गेना र प्रचार प्रशार गर्नुभएको छ। यस अर्थमा मोतिराम भट्ट र भानुभक्त दुवैको नाम अन्योन्याश्रित रहेको पनि पाइन्छ।

भर जन्म घाँसतिर मन दिई धन कमायो
नाम केही रहोस् पछी भनि कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्दि कस्तो
म भानुभक्त धनी भईकन आज यस्तो

पन्ध्रौं शताब्दीमा खस राज्यको पतन पश्चात खस भाषा पनि बोलीचालीमा मात्रै सिमित थियो। जुनबेला कुनै पनि औपचारीक परिवेषमा या लिखितममा खस भाषाको प्रयोग हुँदैनथ्यो। दक्षिण एसिया अझ नेपालमा संस्कृत भाषाको विशेष पकड थियो।

सँस्कृतमा लेखिएको रामायणलाई पढेर सुनाइएपनि समाजमा अधिकांशमा साक्षरता नभएकाले कसैले बुझ्दैनथे तर भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ। इतिहास र भानुभक्त रामायणका पानाहरु अहिले पनि साक्षी छन जसमा आदिकबिले रामायणका हरफहरुलाई अत्यन्तै मिठा छन्दमा प्रस्तुत गरेको पाइन्छ जसलाई सुन्ने जो कोहीलाई त्यो कुनै कविता या गीत नै हो जस्तो भान हुन्छ।

युवक छँदा एकदिन आदिकबिको भेट एकजना घाँसीसँग भयो, धनी परिवारका भानुभक्त र गरिब घाँसीसँगको त्यो भेट नै उनको जीवनको एउटा अविस्मरणीय संकल्प बन्न गयो। गरिब भएतापनि घाँसी समाजकालागि केहि दिन चाहन्थ्यो र घाँसीको त्यही बानीबाट प्रभावित भानुभक्तले समाजलाई भाषा र साहित्य मार्फतबाट धेरै कुरा दिएर बिदा हुनुभयो।

नेपाली भाषा र साहित्य आज पनि भानुभक्तले खोस्रेर शुरु गर्नुभएको पथमा यात्रा गर्दैछ, उहाँले गोडमेल गर्नुभएका शब्दका फूलवारीमा बिहार गर्दैछ।