केराबारी/ मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बैदेशिक रोजगारबाट हालसालै कोहि गाउँपालिकाबासी आएको भए गाउँपालिकालाई खबर गर्न आग्रह गर्नुभएको छ। पूर्वी खबरसँगको बिशेष सम्बादमा अध्यक्ष कार्कीले यस्तो आग्रह गर्नुभएको हो।

केराबारी गाउँपालिका वडा नम्बर ७ कि एक महिलामा कोभिड १९को संक्रमण पुष्टि भएसँगै गाउँपालिकामा कोभिड १९को संक्रमण फैलिन नदिन गाउँपालिकाले सक्दो सचेतना फैलाईरहेको भन्दै अध्यक्ष कार्कीले बैदेशिक रोजगारबाट आउनेहरुको जानकारी नलुकाउन आग्रह गर्नुभएको हो।

अध्यक्ष कार्कीले गाउँपालिकाले सक्दो सचेतना फैलाईरहेको अनि बिदेशबाट आउनेहरुलाई सिधै गाउँपालिकाले तया गरेको क्वारेन्टाईनमा राख्ने ब्यवस्था गरिरहेको भएपनि यस कुराको वेवास्ता गर्न नहुने तर्फ सचेत गराउनुभयो।

अध्यक्ष कार्कीले सचेत रहन आग्रह गर्दै नआत्तिन आग्रह गर्नुभयो। उहाँले गाउँपालिका भित्रै कोभिड १९को संक्रमण देखिसकिएको भन्दै सकारात्मक सोच राख्न गाउँपालिकाबासीलाई आग्रह गर्दै भिडभाड नगर्न, सामाजिक दुरी कायम राख्न र गाउँमा नै उत्पादित सागसब्जीको प्रयोग गर्न आग्रह गर्नुभयो।

सोमबार मात्र बैदेशिक रोजगारीका लागि कुवेतबाट आएकी केराबारी ७ की युवतीमा कोभिड १९को संक्रमण देखिएको हो। अध्यक्ष कार्कीले गाउँपालिका भित्रैका अन्य ५ जनामा पनि आरडिटी टेष्ट गर्दा पोजेटिभ देखिएको र ति मध्यका एकजनामा पिसिआर टेष्ट गर्दा नेगेटिभ देखिएको र अन्यको पिसिआर टेष्ट गर्न बिराटनगर पठाईएको बताउनुभयो।