काठमाण्डौ / नेपालमा कोरोना भाइरस (कोभिड १९) को जाँच टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै गर्न सकिन्छ। तर कोरोनाको उपचारको लागि सरकारले सबैजसो अस्पतालमा आइसोलेशन बेडको व्यवस्था गरेको छ। ती अस्पतालले नमुना लिएर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउनेछन् र कोरोना लागेको वा नलागेको पुष्टि टेकु अस्पतालले गर्नेछ। 

कोरोनाको मुख्य लक्षण उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएमा काठमाण्डौका सबै मुख्य अस्पतालसहित जिल्ला अस्पतालहरुमा जान सकिनेछ। अहिले सबैजसो सरकारी अस्पतालले कोरोना सङ्क्रमणको शङ्का लागेका बिरामीको उपचार गर्ने कक्ष अर्थात् आइसोलेशन वार्डको व्यवस्था गरिसकेका छन्। 

कोरोनाको विशेष उपचार गर्न सेना र सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी

कोरोना सङ्क्रमितको उपचारको लागि सरकारले सुरक्षा निकाय र उनीहरुका संस्थालाई नै अघि सारेको छ। काठमाण्डौको सतुङ्गलमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु भएको छ। अस्पताललाई आवश्यक पर्ने साधन, स्रोत र जनशक्तिका बारेमा सरकारलाई प्रतिवेदन बुझाइसकिएको छ। 

अस्पतालमा पूर्वाधार व्यवस्थापन गर्न र त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्ने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपाल सरकारले अब विभिन्न उपकरण जडान र डाक्टर तथा नर्सको व्यवस्था गर्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो। 

यस्तै नेपाली सेनाले पनि देशका विभिन्न पृतनामा दुई हजार २२ वटा क्वारेन्टाइन बेड र आठ सय ३८ वटा आइसोलेशन बेड तयार पारेको छ। कोरोनाको उपचारको लागि नेपाली सेनाले चीनबाट सहयोग प्राप्त मोबाइल अस्पताल पनि प्रयोगमा ल्याउनेछ। दुई वटा मोवाइल अस्पतालमा एकैपटक सय जनाको उपचार गर्न सकिनेछ।

यस्तै सेनाले आफूसँग भएका विशेष खालका आठ वटा एम्बुलेन्स पनि प्रयोग गर्ने जनाएको छ। चीनले दिएका यस्ता एम्बुलेन्समा भित्रै राखेर उपचार गर्न मिल्नेछ।