साउदी / साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन्।

तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो। उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन। पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए। जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन।

आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन्। तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन्।

प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए। सन् २०१७ मा त उनले साउदी राजपरिवारका सदस्यसँगै मन्त्री तथा व्यवसायीहरूलाई रियादको एक होटलमा बन्धक नै बनाएका थिए। साउदीको राजनीतिमा षड्यन्त्र र जालझेल चुलिएका बेला थप ३ व्यक्ति पक्राउ परेपछि चासोका साथ हेरिएको छ। एजेन्सी