काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एकपछि अर्को विवादमा फँस्दै गएको छ। गोकुल बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको प्रकरणमा तानिनुभएका प्रधानमन्त्री ओली अहिले जन्मदिनमा काटेको केकका कारण ओलोचित बन्नुभएको छ।

आफ्नो ६९ औं जन्मोत्सव मनाउन पहिलो पटक जन्मथलो आठराई पुग्नुभएका प्रधानमन्त्री ओली आफ्नै जन्मदिनमा आफैले काटेको केकको कारण विवादित बन्नुभएको हो। सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना गरिएको छ। नेकपा पार्टी कार्यकर्तालेसमेत उहाँको चर्को आलोचना गर्दै स्टाटस लेखेका छन्।

जन्मदिन मनाउन आफ्नो जन्मथलो तेह्रथुम पुग्नुभएका प्रधानमन्त्रीले काटेको केक नेपालको नक्सा आकारमा तयार गरिएको थियो। सो केक बोक्न हेलिकोप्टर नै चाटर्ड गरिएको थियो। केहीले प्रधानमन्त्री ओलीले लिम्पियाधुरा विनाको नेपालको केक बनाएको भनेर समेत आलोचना व्यंग्य गरेका छन्।

मुलुकी संहिताको दफा १५१ मा पनि राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ। यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ।

यो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था त्यसमा छ। नेपालको नक्सा पनि यस्तै संवेदनशील विषय भएकोले यो घटनाले नेपालीहरुको भावनामा ठेस पुगेको प्रतिक्रियाहरु आएका छन्।

नेकपाको संगठन विभागले बनाएको आचारसंहितालाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले ‘हाइफाइ’ जन्मदिन मनाउनुभएको हो। तेह्रथुमको आठराईमा उहाँको जन्मदिन भव्यरुपमा मनाउन गाँउपालिकाले सार्वजनिक विदा समेत दिएको थियो। जहाँ तीन हजार देखि पाँच हजार मानिसका लागि भव्य भोजको आयोजना गरिएको थियो। उहाँको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए।

नेकपाले आफ्ना नेता–कार्यकताका नाममा सर्कुलर जारी गर्दै भोजभतेरलाई तडकभडकपूर्ण नबनाउन निर्देशन जारी गरिरहँदा पार्टीका अध्यक्ष नै त्यसको उल्लंघन गर्न तत्पर देखिए। नेकपाको आचारसंहितामा जन्मदिन ब्रतबन्ध पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा सीमित गर्नुपर्ने उल्लेख छ।