काठमाण्डाै – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ।

इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो। बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ।

यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितकाे ज्यान गएको थियो।

चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।