रौतहट / रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको हत्याको आरोपमा दुईजना पक्राउ परेका छन्। महमदको हत्याको आरोपमा राजपुर नगरपालिका–६ कुडियाका २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अलीलाई प्रहरीले पक्राउ गरेको हो।

हत्यामा संलग्न सोही ठाउँका ३१ वर्षीय असरफ अली भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। महमदको हत्यामा संलग्न उनीहरु ती युवककै प्रेमिकाका दाजुभाईहरु भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदी–भिजानुलाई भेट्न मोतिपुर गएका उनी सम्पर्कविहिन भएपछि भोलिपल्ट बिहान खोजतलासका क्रममा उनको शव फेला परेको थियो। उनको शव राजपुर नगरपालिका–७ अकोलवा गाउँछेउको भकुवा नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुखएसपी रवीराज खड्काले बताउनुभयो।

कसरी भयो हत्या ?

एहतेसामुलले गत १५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई भेट्न बोलाए। राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा उनीहरुको भेट भयो।

ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखे। त्यसपछि युवती घरतिर भागिन्, युवक पनि आफ्नो घरतिर भागे।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिई घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेका थिए।

पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको उहाँले जानकारी दिनुभयो।