काठमाण्डौ / आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। 'म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको फ्रेबु्रअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

वर्षेनी विश्वभर लाखौं मानिसको क्यान्सरका कारणले मृत्यु हुने गर्छ। विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ।

पछिल्लो समय नेपालमा फोक्सो, मुख, घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन्। नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।