काठमाण्डौ / राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहिबार सातै प्रदेशमा मतदान भइरहेको छ। आज (बिहीबार) कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

बाग्मती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा रहेको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ। यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीनरतीन जनाका दरले ६ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्।

यस्तै सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर ५ र बाग्मती प्रदेशमा निर्वाचन शान्तिपूर्वक भइरहेको जानकारी आएको छ। साथै, अन्य प्रदेशमा पनि निर्वाचन शान्तिपूर्ण सुरु भइरहेको जानकारी आएको छ। निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले भाग लिदैछन्।

प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार छन्।

यसैगरी, गण्डकी प्रदेशमा रिक्त महिलातर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार रहेका छन् भने प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

उता कर्णाली प्रदेशमा महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।