रुपन्देही / प्रदेश नम्बर पाँचका नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको साेमबार दिउँसाे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा निधन भएको हो।

गएकाे वर्ष माघमा छातीमा संक्रमण देखिएपछि काठमाण्डौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो। त्यसपछि विभिन्न असपतालमा उपचार गराएकाे भए पनि क्यान्सर निकाे हुन सकेन। बरु क्यान्सरका् संक्रमण शरीरका अन्य अङ्गमा पनि फैलिन गयाे।  

रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पताल उपचार गराउँदा निको हुने सम्भावना नरहेको चित्किसकले बताएपछि घरमै राखेर उपचार गरिँदै थियाे। प्रदेश सभाकै ज्येष्ठ सदस्य रहनु भएका स्वर्गीय पोखरेल नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नु भएको हो।  

१९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मनु भएका पाेखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीतिक यात्रा थाल्नु भएकाे थियाे। पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि पर्नु भयाे। २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव हुनुभएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म बन्नुभयाे।

स्वर्गीय पोखरेलका ४ छोरा २ छोरी र श्रीमती हुनुहुन्छ।