विराटनगर / विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) माघ ७ गते (भोलि) बाट सञ्चालनमा आउने भएको छ। भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तर गरेपछि मंगलबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

आईसीपीको निर्माण पूरा भएकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले जानकारी दिनुभयो। उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसीपी सञ्चालननमा ल्याइने उहाँले बताउनुभयो।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो। सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ। नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ। लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो। निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो।