काठमाण्डौ / यो सिजन घरेलु प्रिमियर लिग फुटबलमा अपराजित रहेको लिभरपुलले अर्को रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले भ्रमणकारी टोली मयानचेस्टर युनाइटेडलाई एनफिल्डमा २–० ले स्तब्ध बनायो।

पहिलो हाफमा २ वटा गोल भिएआरले रद्द गरे पनि लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदानमा ३ अंक जोड्न सफल भयो। लिभरपुलका लागि खेलको १४औं मिनेमा भर्जिल भान डाइकले अर्नोल्डको फ्रि किकमा हेडिङ गोलमार्फत् सुन्दर गोल गरेका थिए। खेलको २७औं मिनेटमा रोवर्ट फर्मिन्हो र ३५औं मिनेटमा विज्नाल्डुमको गोल भिएआरले रद्द गरिदिएको थियो।

भान डाइकको गोलको अग्रता लिएर लिभरपुल कठिन जिततर्फ अघि बढेका बेला ९० मिनेटपछि थपिएको समयमा मोहमद सालाहले सोलो गोल गरे। गोलकिपर एलिसन बेकरले बक्सबाट दिएको लामो पासमा सालाहले एक्लै बल लगेर युनाइटेडका गोलकिपरका अघिबाटै गोल गरेपछि खेल लिभरपुलले खेल २–० ले जित्यो।

यससँगै सालाहले युनाइटेडविरुद्ध पहिलो गोल पनि गरेका छन्। यसअघि उनले युनाइटेडविरुद्ध गोल गर्न सकेका थिएनन्। तर, यसपटक एनफिल्डमा युनाइटेडको जालीमा आफ्नो नामको बल चुमाउन सफल भए।

खेलमा युनाइटेडले पटक–पटक गोलका अवसर बनाए पनि उसका खेलाडी एन्थोनी मार्सियाल पटक–पटक चुकेपछि युनाइटेड खेलमा फर्किन असफल भएको थियो।

अब यो जितसँगै लिभरपुल २२ खेलसम्म अपराजित रहेको छ। उसले मात्रै १ खेल बराबरी गरेर २१ खेल जितेको छ। लिभरपुल जारी सिजन युरोपियन लिगमा अपराजित रहने एक मात्रै टिम हो। ऊ अब ६४ अंकसहित लिगको शीर्ष स्थानमा छ। लिभरपुलले अब एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछि पारेको छ। यता, पराजित युनाइटेड भने ३४ अंक बनाएर पाँचौं स्थानमा यथावत छ।