बिराटनगर / प्रदेश नम्वर १ को मन्त्रिमण्डल यसै साता विस्तार गरिने भएको छ। मुख्यमन्त्री शेरधन राईले अन्तत: मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाउनु हुने भएको हो। उच्चस्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रिमण्डलको आकार एक महिलासहित १० सदस्यीय पुर्‍याउने निश्चित भएको हो।

अहिले प्रदेश १ मा मुख्यमन्त्री राईको नेतृत्वमा मन्त्रिमण्डल पाँच सदस्यीय छ। मुख्यमन्त्री राईले सरकारको आधा उमेर सकिंदा पनि समावेशी मन्त्रिमण्डल गठन नगरेको भन्दै संसदीय दलको बैठकमा आरोप खेप्नु परेको थियो।

सपथ ग्रहणका बेलामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताउनुभएका मुख्यमन्त्री राईले प्रदेश सरकार गठनको ३ बर्ष नजिक पुग्दा पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो।

मन्त्रिमण्डलमा थप चारजना राज्यमन्त्री बन्नेछन्। स्रोतका अनुसार इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दै हुनुहुन्छ। बाँकी चार राज्यमन्त्रीको दौडमा कला घले, अम्बिरबहादुर गुरूङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वाससहित पाँचजना छन्।