चितवन / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कारण पार्टी धरापमा परेको बताउनुभएको छ। 

रत्ननगर नगर समितिले शनिबार चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीभित्र विकृति मौलाएको बताउनुभयो। 'सभापतिका कारण पार्टी कमजोर बन्दै गएको छ', उहाँले भन्नुभयो, 'व्यक्तिगत स्वार्थमा लागे लाग्नुस्, हामी पार्टी बनाउन लाग्छौँ।' पार्टी सभापतिले कमजोरी ढाकछोप गर्न मात्र खोजेको उहाँले आरोप लगाउनु भयो।

पार्टीलाई रोगमुक्त बनाउन नौ बुँदे सुझाव पेस गरेकोमा त्यसलाई सभापतिले बेवास्ता गरेको पौडेलको भनाइ थियो। महाधिवेशनको मिति एक वर्ष पर धकेलेर देउवाले पार्टीभित्र एकलौटी गर्न खोजेको उहाँले बताउनुभयो। आउँदाे चुनाव जित्ने गरि एकजुट हुनुको विकल्प नरहेकोमा उहाँको जोड थियो। 

काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभइ सत्ता कब्जा गर्ने गरि नेतृत्वले काम गर्नुपर्ने बताउनु भयो।

काङ्ग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय र कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगर सभापति चार जनालाई सम्मान गरिएको थियो।