एजेन्सी / बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउड नायिका श्रीदेवीको निकै ठूलो प्रशंसक र उनको फिल्म असाध्यै मनपर्ने बताइसकेका छन्। करणले हालै श्रीदेवीमा आधारित एउटा किताब पनि सार्वजनिक गरेका छन्। एक कार्यक्रममा श्रीदेवीबारे बोल्दै करण जोहरले भने, ‘मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ।’

उनले थपे, ‘मलाई लाग्दैन कि म श्रीदेवीका लागि राम्रो निर्देशक बन्न सक्छु किनभने म उनको निकै ठूलो प्रशंसक हुँ। कतै न कतै एक फिल्म निर्मातालाई आफ्नो काम बारे ठूलो उद्देश्य राख्नुपर्छ। यदि तपाईं कसैको प्रशंसक हुनुहुन्छ भने तपाईं निष्पक्ष हुन सक्नुहुन्नँ। मलाई लाग्छ कि मैले निष्पक्षता गुमाएको छु। त्यसकारण मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ र यदि यस्तो गरेको भए म फेल हुन्थे र श्रीदेवी असफलता डिजर्भ गर्दिनन्।’

करण जोहरका लागि के थिइन् श्रीदेवी ?

करण जोहरले बलिउडकी दिवंगत सुपरस्टार श्रीदेवीको वर्णन दुनियाँकी उत्कृष्ट मिमिको रुपमा गरेका छन्। करणले भने, ‘श्रीदेवी एक यस्ती अभिनेत्री थिइन् जसले कुनै पनि कुराको अवलोकन निकै गहिरो तरिकाले गर्थिन्। उनीसँग अरुको शारीरिक हाउभाउको अवलोकन निकै गहिराइमा गर्ने क्षमता थियो। उनी संसारको सर्वश्रेष्ठ मिमिक थिइन्। उनी कुनै पनि कुराको नक्कल उतार्न सक्थिन्।’

करणले थपे, ‘उनी ८० र ९० दशककी एक यस्ती अभिनेत्री थिइन् जसले हेरेर बुझेर नै आफ्नो कामलाई उत्कृष्ट तरिकाले पूरा गरिन्।’