एजेन्सी / अमेरिका र बेलायतले भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ।

पछिल्लो समय भारत महिलाका लागि असुरक्षित बन्दै गएको भन्दै अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेका हुन्।

उनीहरुले आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेकोतर्फ सचेत गराउँदै भारत भ्रमणका क्रममा सावधानी अपनाउन सुझाव दिएको हो। दुवै देशले कुनै दुव्र्यवहार भोग्नु परेमा प्रहरी समक्ष जान पनि सुझाव दिएका छन्।

पछिल्लो समय भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना दैनिक जसो हुन थालेका छन्। गएको मंसिर १२ गते हैदराबादमा नजिकै २६ वर्षीया डाक्टरको बलात्कारपछि हत्या भएको थियो। बलात्कारको आरोपमा पक्राउ परेका चारजना आरोपी शुक्रबार हिरासतबाट भाग्न खोजेपछि प्रहरी इन्काउण्टरमा मारिएको बताइएको छ।

त्यस्तै उत्तर प्रदेशको उन्नावमा बलात्कार पीडित एक युवतीको शुक्रबार राति उपचारका क्रममा ज्यान गएको छ। सन् २०१८ को डिसेम्बरमा ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो। केही आरोपी युवक पक्राउ परे पनि केही जमानतमा छुटेका थिए।

बिहीबार मात्रै आरोपीमध्येकै केहीले मुद्दा फिर्ता लिन दबाब दिँदै ती युवतीलाई जिउँदै जलाएका थिए। एअर एम्बुलेन्सबाट ती युवतीलाई दिल्ली ल्याइए पनि उनलाई बचाउन भने सकिएन।