बिराटनगर / बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बिमानस्थल बनाइने नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले घोषणा गर्नुभएको छ। सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले बिराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी पाँच वर्षभित्र २ हजार ५ सय मिटरको बनाउने घोषणा गर्नुभएको हो।

आफ्नो १ सय ४१ बूँदे प्रतिबद्धता पत्रमा पनि बिराटनगरको विमानस्थल विस्तार गरिने उल्लेख भएको बताउँदै मन्त्री भट्टराईले प्रदेश र स्थानीय सरकारलाई साझेदार बनाइ हाल १ हजार ५ सय मिटरको धावन मार्ग भएको विमानस्थल सन् २०२५ सम्ममा २ हजार ५ सय मिटरको बनाउने बताउनुभएको हो।

मध्यम स्तरको विमानस्थल निर्माण गरि एटिआर ७२ जस्ता जहाज चलाएर अन्तर्राष्ट्रिय उडान भर्न सकिन्छ। बुद्ध एयरले एटिआर ७२ बाटै भारतका विभिन्न शहरमा उडान भरिरहेको र प्रदेशको एक राजधानीबाट अन्य प्रदेशका राजधानीमा अन्तर प्रादेशिक उडान गरी हवाई सम्पर्क कायम राख्ने कार्यक्रम सरकारले बनाएको उहाँले जानकारी दिनुभयो।

प्रदेश सरकारले समेत एक वर्षअघि बिराटनगर विमानस्थलको धावन मार्ग ३ हजार मिटरको बनाउनु पर्ने निर्णय गरेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी गराउनुभयो।