जनकपुर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ। मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सांसद थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताउनुभएको हो।

उहाँले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताउनुभयो।

उहाँले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी दिनुभयो। अहिलेको संविधानमा केही कमि कमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि कांग्रेस लागिपर्ने बताउनुभयो।

त्यस्तै सांसद थापाले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्री ओलीको ईमान्दारिता र योग्यतामाथि प्रश्न उठाउदै उहाँले मुलुकलाई कम्बोडियाको हुन्सन मोडालिटिमा लैजान लागेको आरोप लगाउनुभयो।