अर्घाखाँची / अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रक्सी पिएर मातेका ज्वाइँले सासूको हत्या गरेका छन्। दाङको राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची शीतगंगा ८, सातमारा की सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका आरोपित वसन्तले सोमबार राति सासूसँगै बसेर रक्सी पिएको र त्यसै क्रममा झगडा हुँदा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार सासूको हत्यापछि आरोिपत कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएको र गाउँलेहरु आइपुग्दा कुमाल भागेर नजिकै आफन्त कहाँ लुकेर बसेका थिए। इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ। प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।