काठमाण्डौ/ एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोईरीलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो। मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेललाई हराउँदै कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महोत्तरी–१ बाट निर्वाचित कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो  । तर पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि उनी फरार बनेका थिए।

वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका कोईरीले निर्वाचित भएपछि पनि वारेसमार्फत नै प्रमाणपत्र बुझेका थिए।

3243788